प्रचण्डबारे देउवा भन्छन्ः धोकेबाज रहेछन् ।
- २१ फाल्गुन, २०८०
- समाचार
- Nepal Updates
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ताबारे भोलि मात्र निर्णय गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई छाडेर नेकपा एमालेसँग गठबन्धन गर्ने निर्णय लिएपछि कांग्रेस शीर्ष नेताहरु बालुवाटार पुगेका थिए । गठबन्धनको बैठकका लागि कांग्रेस सभापति शेरबहादुर देउवा सोमबार बिहान ८ बजे पदाधिकारीसहित बालुवाटार जाने तयारीमा थिए । तर बालुवाटारबाट बैठक स्थगितको सूचना आयो ।
कांग्रेस नेताहरुले किन भन्ने प्रश्न गरेका थिए । जवाफमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले कोशी प्रकरण, महासमिति बैठक लगायतका कारण देखाए ।
प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहेको उनले स्वीकार गरे । तर आफूहरुले कांग्रेसका मन्त्री २ वर्षका लागि पठाएको हो भनेपछि गम्भीर रुपमा यो विषय कहिल्यै नउठाएको बताए । कोशी प्रदेशमा केदार कार्कीले एमालेसँग मिलेर सरकार बनाएपछि अठ्यारो परेको भनेर भनेको, तर डा. शेखर कोइरालाले बालुवाटारमा सहमति गरेसँगै ठीकै छ भनेर चित्त बुझाएको उनले बताए ।
पार्टीको महासमिति बैठकमा भएका छलफल पनि बहाना मात्र भएको कांग्रेस नेताहरुको निष्कर्ष छ । ‘हामीले छलफल गरेपछि यो विषय पनि टुंगिसकेको थियो,’ खड्काले नेताहरुलाई भने, ‘हामी नियमित संवादमै छौं । मन्त्री वा अरु कुनै कारण गठबन्धनलाई निरन्तरता दिन नसक्ने अवस्था आयो भनेर कहिल्यै भन्नुभएन ।’
आज सोमबार बिहान बोलाएर कांग्रेससँगको गठबन्धनलाई निरन्तरता दिन नसक्ने भयो भनेको उनले सुनाए ।
कांग्रेस सभापति देउवाले पनि गठबन्धनलाई बलियो बनाउन आफू हरसम्भव प्रयास गरेको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटकपटक भेट्न प्रस्ताव गर्दा समेत गठबन्धन तलमाथि होला कि भनेर आफूले टार्दै आएको आएको भन्दै उनले भने, ‘यसले (प्रचण्डले) धोका दियो ।’
प्रधानमन्त्री प्रचण्डले अहिले गरेका तर्कहरु बहाना मात्र भएको भन्दै उनले भने, ‘अहिले नभए २/४ महिनापछि पनि धोका नै दिने रहेछ । धोकेबाज रहेछ ।’
बैठकमा मन्त्रीहरुको राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल भएको थियो । तर प्रधानमन्त्रीले गठबन्धनको औपचारिक बैठक पनि नराखेको र मन्त्रीहरुको राजीनामा पनि नमागेकाले यसबारे हतारमा निर्णय नगर्ने सहमति भएको एक नेताले बताए ।
‘चुनाव अगाडि भएको गठबन्धनप्रति हामी अहिले पनि प्रतिबद्ध छौं । १० पुस २०७९ मा भत्किंदा पनि हामीले जोडेका थियौं’ ती नेता भन्छन्, ‘प्रधानमन्त्री आफैं अर्को बाटो हिंड्नुभएकाले उहाँलाई नै यो कोर्स पूरा गर्न दिउँ भन्ने भएको छ ।’