६ लाख स्मार्ट कार्ड यातायात व्यवस्था विभागमा आइपुग्यो
- ९ माघ, २०८०
- प्रविधि
- Nepal Updates
चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) छपाइको लागि प्रयोग हुने ६ लाख स्मार्ट कार्ड यातायात व्यवस्था विभागमा आइपुगेको छ।
गत पुस २६ गते नेपाल आइपुगेको भएपनि भन्सारसम्बन्धी कागजात मिलाउँदा विभागसम्म कार्ड आइपुगेको थिएन। गत शुक्रबार बेलुकी भने कार्ड विभाग पुगेको हो।
सोमबार लाइसेन्स कार्डका केही प्रति नमूना छपाइ हुने तयारीमा रहेको विभागले जनाएको छ। सर्वसाधारणको लाइसेन्स छपाइ सुरू हुन भने अझै साता-दिन लाग्नेछ।
विभागमा हाल ५० हजार वटा पुराना स्मार्ट कार्ड बाँकी छन्। तिनै कार्डमा अत्यावश्यक वर्गका लाइसेन्स छपाइ हुँदैछ।
स्मार्ट कार्ड छाप्न गत फागुनमा सरकार र जर्मनी कम्पनी मुहेल्बर आइडी सेवा जिएमबिएचसँग सम्झौता भएको थियो। कम्पनीले १४ लाख ९८ हजार ८० डलरमा १२ लाख कार्ड छाप्ने ठेक्का पाएको हो।
पहिलो चरणमा कम्पनीले ६ लाख कार्ड हवाई कार्गो गरेर पठाएको हो। बाँकी ६ लाख दोस्रो चरणमा ४५ दिनपछि नेपाल आइपुग्ने विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल बताउँछन्।