बेलायतको स्पेक्ट्रलाइटले एनसेलको ८० प्रतिशत सेयर किन्यो
- १६ मंसिर, २०८०
- अर्थ
- Nepal Updates
एनसेलको माउ कम्पनी आजियाटा ग्रुपले आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेको छ।
स्पेक्ट्रलाइटले ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ६५ करोड रुपैयाँ) मा एनसेलको सेयर किनेकाे हाे। सन् २०१६ मा आजियाटाले १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको थियो।
सन् २०२९ सम्म (२०८६ भदौसम्म) एनसेलले पाउने लाभांश आजियाटाले नै पाउने सेयर खरिद-बिक्री सम्झौतामा उल्लेख भएको आजियाटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। दुई कम्पनीबीच भएको सेयर खरिद सम्झौतामा आजियाटाले ‘स्थिर प्रतिफल’ र ‘ससर्त प्रतिफल’ को व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ। जसअनुसार आजियाटाले एनसेलको ८० प्रतिशत सेयर बेचेबापत ५ करोड अमेरिकी डलर स्थिर प्रतिफलका रुपमा पाउने भएको छ। त्यसमध्ये ५० लाख अमेरिकी डलर आजियाटाले ६ महिनाभित्र खरिदकर्ताबाट प्राप्त गर्ने र बाँकी रकम चार वर्षभित्र खरिदकर्ताले तिर्ने सम्झौता भएको छ।
नेपालबाट फिर्ता लिने समूहको निर्णय नेपालको प्रचलित व्यापारिक वातावरणको गहन मूल्यांकनमा आधारित भएको जनाउँदै आजियाटाले अनुचित कर र नियामक अनिश्चितताको वर्तमान परिस्थितिका कारण बाहिरिनुपरेको उल्लेख गरेको छ।
‘आजियाटा नेपालमा सात वर्षदेखि एनसेलका मिहिनेती सहकर्मीहरूसँग मिलेर काम गरिरहेको छ। यद्यपि, परिचालन वातावरणमा बढ्दो चुनौतीले आधारभूत परिवर्तनलाई प्रतिनिधित्व गर्दछ,’ आजियाटाका समूह प्रमुख कार्यकारी अधिकृत (ग्रुप सिइओ) तथा प्रबन्ध निर्देशक विवेक सुदले भने, ‘यसले आजियाटाको अनुकूल अवस्था, अनिश्चित नियामक र कर वातावरण तथा २०२९ मा मोबाइल इजाजतपत्रको म्याद सकिने जोखिमका कारण नेपालमा हाम्रो यात्रा जारी राख्न नसक्ने निष्कर्षमा आजियाटा बोर्ड पुगेको छ।’
उनले आफूले प्राप्त गरेको प्रस्तावले आजियाटा निकासलाई सक्षम र गति दिएको छ। एनसेलले आफ्नो व्यवसाय र यसका कुनै पनि दायित्वका लागि पूर्णजिम्मेवारी कायम राख्ने उनले बताए।
खरिदकर्ताले एनसेलका सम्बन्धमा विद्यमान र भविष्यका नेपाली कर दाबीहरूविरुद्ध आजियाटालाई थप क्षतिपूर्ति दिन उनको भनाइ छ।
‘हामी विश्वास गर्छौं यो निर्णय हाम्रा सबै सेयरधनीहरूको उत्कृष्ट दीर्घकालीन हितमा छ। म हाम्रा असाधारण एनसेल सहकर्मीहरूलाई धन्यवाद दिन चाहन्छु जसले विगत सात वर्षमा हाम्रो व्यवसायको विकासमा आफ्नो अथक समर्पण र विशेषज्ञतासाथ महत्त्वपूर्ण भूमिका खेलेका छन्,’ सुदले भने, ‘म विश्वस्त छु कि स्पेक्ट्रलाइट युके लिमिटेडको नेतृत्वमा कम्पनी भविष्यमा फस्टाउँदै जानेछ।’
यद्यपि, नेपाल दूरसञ्चार प्राधिकरणले मलेसियाली कम्पनी अजियाटालाई एनसेलमा रहेको आफ्नो हिस्साको सेयर बेच्नुअघि प्राधिकरणको स्वीकृति लिन निर्देशन दिएको छ।
दूरसञ्चार नियमावलीले नै व्यवस्था गरेअनुरूप कुनै दूरसञ्चार कम्पनीले आफ्नो हिस्साको सेयर बिक्री गर्न वा खरिद गर्न लागेको अवस्थामा त्यसका लागि प्राधिकरणबाट स्वीकृति लिनुपर्छ । सोही नियमावलीको पालना गर्नका लागि अजियाटालाई निर्देशन दिएको हो।
आजियाटाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सन् २०२३ को पछिल्लो तीन महिनामा मात्र एनसेलले कुल ९ अर्ब ३१ करोड रुपैयाँबराबर कारोबार गरेको छ। यो २०२२ को सोही अवधिको तुलनामा ७० करोड ५० लाख रुपैयाँले कम हो।
तथ्यांकअनुसार कम्पनीले २०२३ को ९ महिनासम्ममा २८ अर्ब २७ करोड रुपैयाँबराबर कारोबार गरेको छ। अघिल्लो वर्ष २०२२ को सोही अवधिमा कम्पनीको कारोबार ३० अर्ब १९ करोड रुपैयाँ थियो।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार एनसेलको कारोबारमा कमी आइरहेको थियो। तथ्यांकअनुसार २०७५/७६ मा एनसेलको व्यापार ५५ अर्ब २८ करोड, २०७६/७७ मा ४६ अर्ब ७७ करोड, २०७७/७८ मा ४० अर्ब २२ करोड, २०७८/७९ मा ३९ अर्ब ५१ करोड र २०७९/८० मा आउँदा ३७ अर्ब ४४ करोड रुपैयाँको भएको थियो।
एनसेलबाट आजियाटा बाहिरिनुको प्रमुख कारण कम्पनीको लाइसेन्स अवधिलाई लिइन्छ। दूरसञ्चार प्राधिकरणका अनुसार एनसेल अब सरकारी स्वामित्वमा आउन करिब ६ वर्षमात्रै बाँकी छ।