नयाँ कर्जाको माग गर्दै आउने ग्राहकको अभाव
- १६ मंसिर, २०८०
- अर्थ
- Nepal Updates
बैंकहरूमा ऋणको माग नभएपछि ग्राहक खोज्दै बैंकरहरू कर्पोरेट हाउस र ठूला प्रभावशाली समूह पछ्याउन थालेका छन्। पछिल्लो समय बैंकहरूमा तरलता (लगानीयोग्य रकम) अधिक भएको र व्यवसाय विस्तार हुने सम्भावना नदेखिएपछि बैंकरहरू आफैं ग्राहक खोज्न बाध्य भएका हुन्।
विगतमा ऋण माग्दै तँछाडमछाड गर्ने कर्पोरेट हाउसहरू यतिबेला लगानी गर्ने वातावरण नभएको भन्दै शान्त छन्। ब्याजदर महँगो भएकाले लगानीको वातावरण बिग्रिरहेको बताउँदै आएका ठूला भनिएका लगानीकर्ताहरू ब्याजदर घट्ने क्रम सुरु हुँदा पनि लगानी माहोल नभएको भन्दै ‘पर्ख र हेर’ को अवस्थामा छन्।
नयाँ कर्जाको माग गर्दै आउने ग्राहक खोज्न बैंकहरू बजार धाउन थालेका हुन्। कर्जा प्रवाहका लागि वित्तीय अवस्था सहज हुँदा पनि बैंकहरूले नयाँ कर्जा लिने ग्राहक नपाउँदा व्यवसाय सुस्ताउँदै गएको हो।
चालू आर्थिक वर्ष सुरु भएयता बैंकहरूमा कर्जाको माग न्यून भएको दोस्रो त्रैमास आधासम्म कर्जा माग ठप्प रहेको बैंकरहरू बताउँछन्।