सांसदहरुले दशैँ लगायतका चाडपर्वमा कालोबजारी नियन्त्रण गर्न दिए दबाब
- २१ आश्विन, २०८०
- राजनिति
- Nepal Updates
सांसदहरुले दशैँ लगायतका चाडपर्वमा कालोबजारी हुने गरेको भन्दै त्यसलाई चनाखो भएर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । दशैँलगायतका चाडपर्व नजिक आइरहेका बेला आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले दुर्गम क्षेत्रमा नागरिकलाई सहज र सुलभ मूल्यमा चामललगायतका खाद्यवस्तुको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग समेत गरे ।
सांसद विनिताकुमारी सिंहले चाडपर्वका बेला कालोबजारी गर्ने जस्ता अपराधिक गतिविधि हुने गरेको भन्दै त्यसलाई समयमै रोक्न सरकारसँग माग गरिन् । उनले विषाधि चेकजाँच गरेर मात्रै खाद्य वस्तुहरुलाई बिक्री वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरिन् ।
सांसद सिंहले भनिन्, ‘विषादी चेकजाँच गरेर मात्रै खाद्यवस्तुको बिक्री वितरण गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । दशैँलगायतका चाडपर्वको मौका छोपेर खाद्य वस्तुमा पनि मिसावट गर्ने, आफूखुशी मूल्यवृद्धि गर्ने, कालोबजारी गर्ने । साथै म्याद गुज्रेका सामान बिक्रीवितरण गर्नेजस्ता अपराधिक गतिविधिहरु समयमै रोक्नका लागि सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु । ’
सांसद विजुला रायमाझीले चाडबाडका बेला सवारी दुर्घटना अधिक हुने गरेको उल्लेख गर्दै त्यसो हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताइन् । उनले गुणस्तरहिन खाद्य वस्तुको बिक्रीवितरण हुन नदिनका लागि पनि सरकारलाई सचेत गराइन् ।
सांसद रायमाझीले भनिन्, ‘शहरको महंगी, कालोबजारी र गुणस्तरहिन वस्तु र सेवाले जनता पीडित हुँदैछन् । चाडबाडमा सवारी दुर्घटना प्रशस्त हुने र यो सवारी दुर्घटना न्युन गर्नका लागि सरकार चनाखो बनोस् । ’ सांसद रायमाझीले चाडपर्वका बेला जनतालाई मारमा पार्ने खालका कुनैपनि गतिविधि हुन नदिन सरकार चनासो हुनुपर्ने बताइन् ।