३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

आफ्नो प्रेमिका नर्सको हत्या गरेर प्रेमी शिवशंकरले गरे आत्महत्या

सोसल सेयर

विराटनगर– ४ स्थित नोबल टिचिङ्ग अस्पतालको अर्थो बिभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न  प्रेमी २२ वर्षीय शिवशंकर दास आत्महत्या गरेको अवस्थामा मृत भेटिएका छन् ।

विराटनगर – ४ नोबल हस्पिटल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा आइतबार राति मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडीदेखि कोठामा बस्दै आएकी थिइन् । उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा डेराको कोठाभित्र  बाथरुममा शव भेटिएको थियो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको थियो ।
चन्द्रिका कुमारीको हत्या उनकै प्रेमी शिवशंकरले गरेर फरार भएपछि उनको खोजी कार्यमा प्रहरी लागि परेको थियो ।

शिवशंकरले आत्महत्या गरेको होटल नर्स चन्द्रिका कुमारीको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा पर्दछ ।  शिवशंकर र चन्द्रिकाकुमारी चार वर्षदेखि प्रेमसम्बन्धमा थिए । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए ।

उनी वैदेशिक रोजगारमा गएपछि यता चन्द्रिका कुमारीको सिएमए सिराहाका अमिन धानुकसँग प्रेम सम्बन्ध बसेको थियो । ‘चन्द्रिकाकुमारीले प्रेममा धोका दिने भएपछि हत्या गरेको देखिन्छ,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘चन्द्रिकाको हत्या गरेँ । अब म पनि आत्महत्या गर्छु भनेर शिवशंकरले दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेको पनि रहेछन् ।’

शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए । उनी २९ फागुनमा विराटनगर आएको देखिन्छ । विराटनगर आएपछि उनी प्रेमी चन्द्रिकाकुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ ।
प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा किचनमा प्रयोग हुने कटर प्रयोग भएको  छ  ।

उक्त कटर प्रहरीले बरामद गरेको छ ।  हत्यापछि शिवशंकर दुई दिन कता गए त्यो अनुस्न्धान भइरहेको एसपी कार्कीले बताए । आत्महत्या गरेका शिवशंकरको शवको सनाखत उनका दाजुले गरेका छन्। त्यसलगत्तै प्रहरीले घटनाको मुचुल्का उठाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →