आफ्नो प्रेमिका नर्सको हत्या गरेर प्रेमी शिवशंकरले गरे आत्महत्या
- ५ चैत्र, २०८०
- समाचार
- Nepal Updates
विराटनगर– ४ स्थित नोबल टिचिङ्ग अस्पतालको अर्थो बिभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न प्रेमी २२ वर्षीय शिवशंकर दास आत्महत्या गरेको अवस्थामा मृत भेटिएका छन् ।
शिवशंकरले आत्महत्या गरेको होटल नर्स चन्द्रिका कुमारीको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा पर्दछ । शिवशंकर र चन्द्रिकाकुमारी चार वर्षदेखि प्रेमसम्बन्धमा थिए । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए ।
उनी वैदेशिक रोजगारमा गएपछि यता चन्द्रिका कुमारीको सिएमए सिराहाका अमिन धानुकसँग प्रेम सम्बन्ध बसेको थियो । ‘चन्द्रिकाकुमारीले प्रेममा धोका दिने भएपछि हत्या गरेको देखिन्छ,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘चन्द्रिकाको हत्या गरेँ । अब म पनि आत्महत्या गर्छु भनेर शिवशंकरले दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेको पनि रहेछन् ।’
शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए । उनी २९ फागुनमा विराटनगर आएको देखिन्छ । विराटनगर आएपछि उनी प्रेमी चन्द्रिकाकुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ ।
प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा किचनमा प्रयोग हुने कटर प्रयोग भएको छ ।
उक्त कटर प्रहरीले बरामद गरेको छ । हत्यापछि शिवशंकर दुई दिन कता गए त्यो अनुस्न्धान भइरहेको एसपी कार्कीले बताए । आत्महत्या गरेका शिवशंकरको शवको सनाखत उनका दाजुले गरेका छन्। त्यसलगत्तै प्रहरीले घटनाको मुचुल्का उठाएको छ ।