विवादित अयोध्या मन्दिरमा प्राण प्रतिष्ठा गरियो
- ९ माघ, २०८०
- समाचार
- Nepal Updates
दशकौं लामो भारतको राम मन्दिर विवाद अब चरमोत्कर्षमा पुग्दैछ । कुनै समय मुस्लिम धर्मावलम्बीहरुको घर (मस्जिद) रहेको भारतको उत्तरी शहर अयोध्यामा हिन्दू मन्दिर (राम मन्दिर) मा हिजो प्राण प्रतिष्ठा गरियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी -जसको हिन्दू-राष्ट्रवादी सरकारले मुस्लिम र अन्य धार्मिक अल्पसंख्यकहरूमाथि दमन बढाइरहेको आरोप लाग्दै आएको छ- को प्राण प्रतिष्ठा समारोहमा मुख्य भूमिका रहेको थियो । मोदीको यस सक्रियतालाई धेरैले लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने उनको अभियानको अनौपचारिक सुरुवात भएको बताएका छन् ।
मोदी उपस्थित रहेको यो समारोहमा विपक्षी कांग्रेस पार्टीका नेताहरू भने अनुपस्थित रहे । कांग्रेसी नेताहरूले यसलाई स्पष्ट रूपमा चुनावी लाभको निम्ति अगाडि बढाइएको राजनीतिक परियोजना भनेर वर्णन गरेका छन् । त्यसैगरी, मन्दिर निर्माण नसकिइँदै नै चुनावी फाइदा हेरेर शिलान्यासमा लागेको भन्दै कतिपय पण्डितहरुले पनि मोदीको आलोचना गरिरहेका छन् ।
मन्दिर निर्माणको सम्पूर्ण काम नसकिँदै भारतको लोकसभा चुनावअघिको ठूलो काम भनी देखाउन मोदी तथा आदित्यनाथको टीमले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गराएको भनेर केही सन्त-महन्तले आलोचना गरेका हुन् । शास्त्रको उल्लंघन गर्दै आयोजना गरिएको कार्यक्रममा आफूहरु सरिक नहुने उनीहरुले बताएका थिए । हिन्दू शास्त्रले शंकराचार्यलाई हिन्दू धर्मगुरुहरुको सर्वोच्च पदमा राख्छ । धर्मप्रचारका लागि बदि शंकराचार्यले चार वटा मठ स्थापना गरेका थिए । ती चार वटै मठका शंकराचार्यहरुको तर्फबाट प्राण प्रतिष्ठामा सहभागी नहुने विज्ञप्ति जनवरी ८ मै निकालिएको थियो ।
शंकराचार्य अविमुक्तेश्वरानन्दले भनेका थिए, ‘शास्त्रको पालना गरेर प्राण प्रतिष्ठालाई पूर्णता दिने हाम्रो जिम्मेवारी हो । मन्दिर अपूरो रहेको अवस्थामा अचानक प्रतिष्ठा गर्नुपर्ने कारण देखिँदैन । हामी आशक्ति वा घृणाका कारणले नभएर शास्त्रको पालना नभएका कारण त्यहाँ नजाने भएका हौं ।’
तीन तले राम मन्दिरको निर्माणले पूर्णता भने आगामी डिसेम्बरमा मात्रै पाउनेछ । यसरी काम नै नसकिएको परियोजनामा बीचैमा आफ्नो फाइदाका लागि प्राण प्रतिष्ठा गराउँदा धर्मको अपमान हुने भन्दै पुरी र जोशी मठका शंकराचार्यहरुले मोदी सरकारबाट मूर्ख प्रयास भएको दाबी गरेका छन् । मन्दिरमा रामको भन्दा ठूलो तस्बिर (कटआउट) नरेन्द्र मोदीेको लगाइएको छ । यस विषयलाई लिएर पनि एकथरिले विरोध गरिरहेका छन् ।
जनवरी २२ लाई भारत सरकारदेखि अधिकतम हिन्दू धर्मावलम्बीहरुसम्मले विशाल राष्ट्रिय तथा धार्मिक महत्वको उत्सवको रूपमा प्रचार गरेका थिए । तर, यो घटनाले भारतको धर्मनिरपेक्षतालाई आर्यघाटमा पुर्याउने गैरहिन्दूहरुको विश्लेषण छ ।
‘समकालीन भारतमा धर्म र समाजको कुरामा राम मन्दिर धेरै विभाजनकारी मुद्दाहरूको वरिपरि घुम्छ’, वासिङ्गटनमा अवस्थित विल्सन सेन्टरमा रहेको साउथ एसिया संस्थाका निर्देशक माइकल कुगेलम्यान भन्छन्, ‘मन्दिरले भारतको इतिहासमा अविश्वसनीय दर्दनाक र भारी विवादित घटनाहरू लेखेको छ ।’
हिन्दूहरूका लागि अयोध्या भगवान राम (हिन्दू धर्ममा सबैभन्दा आदरणीय देवताहरूमध्ये एक) को जन्मस्थल हो । अयोध्या हिन्दू धर्मावलम्बीहरुको लागि जति पवित्र छ, त्यति नै महत्वपूर्ण मुस्लिम सम्प्रदायको लागि पनि छ । १६औं शताब्दीमा अयोध्यामा बाबरी मस्जिद निर्माण भएको थियो । यो मस्जिद शताब्दीयौंसम्म अयोध्यामै थियो । जसका कारण अयोध्या मुस्लिमहरुको लागि सम्मानित र आस्थाको स्मारक हो । यही स्मारकलाई सन् १९९२ मा हिन्दू राष्ट्रवादीको भीडले ध्वस्त पारे, जसका कारण साम्प्रदायिक दंगा भयो र हजारौं मानिसहरू मारिए ।
अयोध्या राम मन्दिर र बाबरी मस्जिदमध्ये कसको आधिकारिकस्थल भनी विगतमा लामो समयसम्म विवाद थियो । अन्ततः भारतको सर्वोच्च अदालतले सन् २०१९ मा यो स्थान हिन्दूहरुको भएको ठहर गरिदियो । भारतको सत्तारुढ भारतीय जनता पार्टीको प्रभावमा अदालतले यस्तो फैसला सुनाएको मुस्लिम समुदायको आरोप छ ।