१८ आश्विन २०८३, आईतवार  |  4 October 2026,Sunday

नयाँ भेरियन्ट पत्ता लगाउन जिन सिक्वेन्सिङ

सोसल सेयर

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउनका सीमा नाकाबाट आउने सङ्क्रमितको नमुना सङ्कलन गरेर अणुवाङ्शिक अध्ययन (जिन सिक्वेन्सिङ) गरेको छ ।

प्रयोगशालाले सीमा नाकामा सङ्क्रमितबाट सङ्कलन गरिएका नमुनाको जिन सिक्वेन्सिङ गरेको हो । प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट भेरिएन्ट अफ इन्टरेस्ट) फेला नपरेको बताए ।

उनले ति नमूनामा जिन सिक्वेन्सिङ गर्दा कोरोना भाइरसको पुरानो भेरियन्ट ओमिक्रोनको भेरियन्ट देखिएको बताए । भारतबाट नेपाल प्रवेश गर्ने सीमा नाकामा नोभेम्बर महिनामा सङ्कलन गरिएका नमुनाको जिन सिक्वेन्सिङ गरिएको हो ।

“सीमा नाकाबाट फेरि पनि जिन सिक्वेन्सिङका नमुना पठाउन भनेका छौँ”, उनले भने, “डिसेम्बर महिनाका पनि हामीले जिन सिक्वेन्सिङ गर्ने छाैँ ।” सरकारले भारतको केरला राज्यमा देखिएको सङ्क्रमणको रोकथाम र उपचारको लागि तयारी अवस्था रहेकाले सबैलाई नडराउन आग्रह गरेको छ ।

प्रयोगशालाले चीनमा बालबालिकामा देखिएको कडा खालको निमोनियाको जिन सिक्वेन्सिङ गर्ने तयारी गरेको छ । प्रयोगशालाका निर्देशक डा भट्टले जिन सिक्वेन्सिङका लागि किट रहेकोले नमुना सङ्कलन गर्ने तयारी भइरहेको जानकारी दिए । रासस

← पहिलो समाचार || अर्को समाचार →