कहिलेदेखि गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान होला?
- १० पुष, २०८०
- राजनिति
- Nepal Updates
०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गर्दै अन्तर्राष्ट्रिय उडानसँगै यहाँ धेरै होटल आवश्यक पर्ने बताएका थिए । त्यही भाषण सुनेपछि भैरहवाका व्यवसायी पवन हलुवाईले लुम्बिनीमा होटल पवन प्यालेस निर्माणको काम थालनी गरेका थिए ।
विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा पर्यटन क्षेत्रमा लगानी गरेका अन्य व्यवसायी पनि आर्थिक संकटमा परेको टुर एन्ड ट्राभल एजेन्सी संघ (नाटा) लुम्बिनीका पूर्व अध्यक्ष सागर अधिकारीले बताए ।
विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा समग्र बजारलाई असर परेको भन्दै भैरहवाका विभिन्न संघ संस्थाले सरकारलाई दबाब दिन सिद्धार्थ सञ्जाल, रुपन्देही गठन गरेका छन् ।

उक्त सञ्जालमा उद्योगी व्यवसायी तथा अन्य सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सदस्य छन् । सञ्जालले विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउन दबाब दिने मुख्य उद्देश्य बनाएको छ ।
सञ्जालमा संयोजक अनिल ज्ञवालीका अनुसार विमानस्थल सञ्चालनका लागि कात्तिक १५ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आएकोमा अहिले मन्त्रीबाट अबको दुई महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने बाचा प्राप्त भएको छ ।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि अन्तर्राष्ट्रिय उडान अपेक्षा अनुसार हुन सकेन । प्राध्यापक माधव कुमार पौडेलको बुझाइमा राज्यबाट अर्बौं लगानी भएको विमानस्थल नियमित गर्न राज्य पक्षले गम्भीरता देखाएको छैन ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारीस्तरबाटै इच्छाशक्ति नभएको र भारतसँगको रुट लगायतका विभिन्न भ्रम सिर्जना गरेर यो विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न इच्छा नदेखाएको आरोप लगाउँछन् ।
जजिरा एयरलाइन्स र हिमालय एयरलाइन्सले केही समय यहाँ अन्तर्राष्ट्रिय उडान गरे पनि यात्रु नपाएपछि बन्द गर्नुपरेको थियो ।
यता गौतमबुद्ध विमानस्थल प्रमुख हंशराज पाण्डेका अनुसार बाहिर हल्ला भएजस्तो रुटकै समस्याको कारण विदेशी विमान नआएको सत्य नभएको जिकिर गर्दछन् ।
विमानस्थल सञ्चालनका क्रममा हिउँद महिनामा भिजिबिलिटीका कारण समस्या आउने उनको भनाइ छ । भैरहवा आउने अन्तर्राष्ट्रिय विमानलाई भैरहवामाथिकै रुट दिए पनि विमानलाई तोकिएको उचाइकै कारण अवतरणका लागि आकाशमा फन्को लगाउनुपर्ने र यसले पनि उत्तिकै खर्च बढाउने पाण्डेको तर्क छ । अर्कोतिर व्यावसायिक कुरा पनि जोडिने उनले बताए ।

राज्यको अर्बौं लगानीमा निर्माण भएको विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुनुपर्छ भन्ने मान्यताका साथ माथिल्लो निकायबाट आवश्यक तयारी भइरहेको उनको दाबी छ ।
होटल व्यवसायी, उद्योग वाणिज्य संघ, व्यापार संघ, ट्राभल एण्ड टुर एजेन्सी लगायतका संस्थाको संयोजनमा बनेको सिद्धार्थ सञ्जाल रुपन्देहीले विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि दबाब दिन सम्बन्धित निकायहरुमा पत्राचार भेटघाट तथा आन्तरिक हवाई टिकट बिक्री नगर्न पत्राचार गर्ने र विरोधस्वरुप शान्ति ¥याली निकाल्ने योजना बनाएको थियो ।
त्यस्तै, आन्तरिक विमानस्थल अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम समेत आयोजना गरेको थियो । प्रदेशका मुख्यमन्त्री, संघ सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीदेखि प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाउने काम सञ्जालले गरेको थियो ।
सञ्जालका संयोजक अनिल ज्ञवालीका अनुसार संघ सरकारले पुस २ गते काठमाडौँ बोलाएर सञ्जाललाई अबको दुई महिनाभित्र नियमित अन्तर्राष्ट्रिय उडान चलाउने आश्वासन दिएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिएको हो ।
उनले भने, ‘हामीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री र राज्यमन्त्रीबाट अबको २ महिनाभित्र अन्तर्राष्ट्रिय उडान सुरु गर्ने आश्वासन आएको छ, अब धर्नाको कार्यक्रमलाई परिवर्तन गरी अन्य कार्यक्रम जारी राख्ने निर्णय गरेका छौँ ।’