नेपालको अम्रिसोले भारतमा बजार खोज्दै
- १८ चैत्र, २०८०
- अर्थ
- Nepal Updates
पछिल्ला केही वर्षमा अम्रिसोको निर्यात बढ्दो क्रममा छ ।
घरायसी प्रयोग र गाईबस्तुको घाँसका रूपमा उत्पादन हुँदै आएको अम्रिसो भारतीय बजारमा आफ्नो स्थान बनाउनतर्फ लागेको छ । नेपालको सबैजसो भूभागमा घरायसी प्रयोजनका लागि उत्पादन हुँदै आएको अम्रिसोको धेरैजसो जिल्लामा व्यावसायिक खेती हुन थालेपछि आन्तरिक आपूर्ति धानेर भारतीय बजारमा निर्यात हुन थालेको हो ।
यस अवधिमा नेपालबाट विदेशतर्फ १ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको अम्रिसोको निर्यात भएको छ । जबकि, गत आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्मको अवधिमा ७६ करोड ७८ लाख रुपैयाँको अम्रिसो निर्यात भएको थियो । यो चालू वर्षको सोही अवधिको तुलनामा २४ करोडले कम हो ।
नेपालबाट गत आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ८८ लाख रुपैयाँको अम्रिसो निर्यात भएको थियो । यस्तै, अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ६९ करोड ९८ लाख रुपैयाँको अम्रिसो निर्यात भएको थियो । यो तथ्याङ्कले पछिल्लो समय निरन्तररूपमा नेपालबाट विदेशतर्फ अम्रिसोको निर्यात बढ्दो अवस्थामा रहेको देखाएको छ ।
भारतमा चालू वर्षको ८ महिनाको अवधिमा १ अर्ब ३ करोडको अम्रिसो निर्यात भएको छ ।