कोरियाको ई-७ भिसामा श्रमिक पठाउने जिम्मा म्यानपावरलाई
- ६ चैत्र, २०८०
- समाचार
- Nepal Updates
दक्षिण कोरियाको ई-७ भिसामा म्यानपावरले श्रमिक पठाउने गरी कार्यविधि बनेको छ।
तोकिएको मापदण्डभित्र रहेका म्यानपावर कम्पनीले ई-७ भिसामा श्रमिकहरू पठाउन पाउने भएका हुन्।
ई-७ भिसामा कोरिया पठाउने म्यानपावर कम्पनीको आफ्नै स्वामित्वको तालिम केन्द्र हुनुपर्नेछ। पूर्णकालीन उपयोग गर्न सकिने गरी करार सम्झौता तालिम केन्द्र भएकोले पनि मान्यता पाउनेछ।
भाषा प्रशिक्षण तालिम केन्द्रमा कोरियाली भाषा पढाउने प्रशिक्षणको आधिकारिक प्रमाणपत्र प्राप्त कम्तीमा दुईजना भाषा प्रशिक्षक हुनुपर्नेछ।
त्यस्तै, श्रमिकहरूको सहजीकरणका लागि आवश्यक कल्याणकारी सेवा तथा काम प्रयोजनका लागि दक्षिण कोरियामा दर्ता तथा अनुमति प्राप्त एसोसिएसनसँग सम्झौता गरेको हुनुपर्नेछ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८० अनुसार उक्त भिसामा श्रमिकहरू जाँदा लाग्ने शुल्क रोजगारदाताले नै बेहोर्ने छन्।
‘नेपाली नागरिकलाई रोजगारीका लागि कोरिया पठाउँदा लाग्ने हवाई भाडा, बीमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा योगदान, सामाजिक सुरक्षा कोषमा योगदान र श्रम स्वीकृतिमा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने भनिएकोमा सोही बमोजिम र अन्यको हकमा मन्त्रालयले तोकेबमोजिम हुनेछ,’ कार्यविधिमा भनिएको छ।
श्रमिक पठाउँदा म्यानपावर कम्पनीहरू तथा दक्षिण कोरियास्थित सम्पर्क वा शाखा कार्यालयले कुनै पनि शुल्क श्रमिकबाट उठाउन पाउने छैनन्। कोरियास्थित सम्बद्ध एसोसिएसनले पनि श्रमिकबाट कुनै किसिमको शुल्क लिन नपाउने कार्यविधिमा व्यवस्था छ। सीप तथा भाषा प्रशिक्षण प्रदायक संस्ठाले सञ्चालन गर्ने सीप तथा भाषा प्रशिक्षण एवं परीक्षणको शुल्क समेत सम्बन्धित रोजगारदाताले बेहोर्नुपर्नेछ।