स्वस्थानी व्रतालुहरुको साँखुको सालीनदीमा भीड
- ७ फाल्गुन, २०८०
- समाचार
- Nepal Updates
स्वस्थानी व्रतको आफ्नै धार्मिक, ऐतिहासिक र पौराणिक महत्व रहेको छ । पौराणिक हिसाबले अति नै महत्वपूर्ण स्वस्थानी व्रत यहीँ शनिबारदेखि सकिदैँछ । अहिले स्वास्थानी व्रत लिने ब्रतालुहरुको साँखुको सालीनदीमा ठूलो भीड देख्न सकिन्छ ।
पौष शुक्ल पूर्णिमा देखि व्रत शुरु हुने भएता पनि अघिल्लो दिनमै पुरुष व्रतालुहरूले हात गोडाको नङ्ग काटी, कपाल खौरिएर, शुद्घ एकभक्त भई महादेवस्थानबाट जल र संकल्प सहित माधव नारायण राखेको पुजारी घरमा गई दर्शन गरी व्रत बस्ने प्रतिज्ञा गर्नुपर्दछ ।
स्वस्थानी पुस्तकअनुसार स्वस्थानी व्रत सर्वप्रथम नारायण विष्णु, त्यसपछि पार्वती, गंगा, अप्सरा, गोमा, नागनागिनी, चन्द्रावती, नवराज हुँदै सर्वसाधारणमा स्वस्थानी व्रत सुरु भएको मानिन्छ ।
पवित्र सालीनदीको पानीले नुहाएमा शरिरमा भएका विभिन्न रोगहरू नष्ट भई रोग निको हुनुका साथै शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त हुने जनविश्वास रहेको छ ।
स्वस्थानीलाई माधव नारायण भन्नुका कारण १२ महिनामा नारायण विष्णु भगवानले विभिन्न रूप लिनुहुने जसअनुसार बैशाखमा मधुसुदन नारायण, जेठमा त्रिविक्रम नारायण, आषाढमा वामन नारायण, श्रावणमा श्रीधर नारायण, भाद्रमा ऋषिकेश नारायण, असोजमा पद्मनारायण, कार्तिकमा दामोदर नारायण, मंसिरमा केशव नारायण, पौष महिनामा नारायण, माघमा माधव नारायण, फाल्गुणमा गोविन्द नारायण र चैत्र महिनामा विष्णुरूपले पुजिने हुंदा माघ महिनामा नारायणको नाम माधव हुनेभएकोले माधव नारायणको नामले माघ महिनाभर पुजिने र कान्ति लक्ष्मी प्राप्त हुने विश्वास लिइएको छ