३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

‘भ्यालेन्टाइन डे’ लाई लक्षित गरी लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट

सोसल सेयर

लुम्बिनी केबलकारले प्रणय दिवस सप्ताह (भ्यालेन्टाइन डे) लाई लक्षित गरी टिकट दरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
कम्पनीले माघ २४ गतेदेखि फागुन २ गतेसम्म केबलकारको दुई तर्फी यात्राको टिकट दर पांच सय रुपैयां मात्र कायम गर्ने घोषणा गरेको हो ।
केबलकारका अपरेसन म्यानेजर दिल्लीनारायण कायस्थ सैंजूले प्रणय दिवसलाई लक्षित गरेर भ्यालेन्टाइन अफर ल्याइएको बताए । नेपालीसंगै भारतीय नागरिकलाई पनि टिकट दरमा ५० प्रतिशत छुट गरिएको उनले बताए । कम्पनीले यसअघि ल्याएको ‘मर्निङ अफर’ र दशैं तिहार लक्षित चाडपर्व अफरले आन्तरिक र वाह्य पर्यटकलाई आकर्षित गरेको हुंदा भ्यालेन्टाइन अफरले विशेष गरी युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीको विश्वास रहेको सैंजूले बताए ।
केबलकारको टिकट दर रु एक हजार कायम गरिएपनि सञ्चालनमा आएसंगै नेपालीका लागि ७५० रुपैयां कायम छ । बुटवलको गोलपार्क बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दूरीको केबलकार गत जेठ १५ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको थियो । आठ महिनामा करिब दुई लाख पर्यटक केबलकारको यात्रा गरी पाल्पाको बसन्तपुर पुगेका कम्पनीले जनाएको छ ।
डेढ दशकअघि प्रक्रिया अघि बढे पनि लगानी अभाव लगायत विभिन्न कारणले काम अघि बढ्न नसकेको कूल ५ अर्ब लागतको आयोजना आईएमई ग्रुपले नेतृत्व लिएपछि १४ महिनामै निर्माण सम्पन्न भएको थियो ।
कम्पनीले प्रत्येक टिकट दरको एक–एक प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई स्थानीय कर वापत दिंदै आएको छ ।
टिकटदरमा बुटवलको वडा नम्बर ३ र तिनाउ गाउंपालिकाको वडा नम्बर ३ का बासिन्दा, अपांगतासहित फरक क्षमता भएका नागरिक र ३ देखि ४ फिट उचाई भएकालाई ५० प्रतिशत छुट, विद्यार्थी र ७० वर्षदेखि ८० वर्ष सम्मका जेष्ठ नागरिकलाई ४० प्रतिशत तथा ३ फिट भन्दा कम उचाईका बच्चा र ८० वर्ष माथिका जेष्ठ नागरिकलाई नि:शुल्क गरिएको छ ।
२५ वटा गोण्डोला (यात्रु बस्ने डिब्बा) रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ ।

केबलकारको टप स्टेशनमा रेष्टुरेण्ट, जीप लाइन, सेल्फी जोन सञ्चालनमा आइसकेका छन् भने स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान निर्माणको चरणमा छन् । त्यस्तै २ वर्षभित्र एक सय ५० कोठा, १ हजार जना क्षमताको बैंक्वेट हल र क्यासिनो सहित साढे ३ अर्ब लागतमा पाँचतारे होटेल बनाउने योजना छ ।
करिब १ सय जनालाई रोजगारी दिएको कम्पनीले पाँचतारे होटल सञ्चालनमा आउँदा थप ५ सय बढीलाई रोजगारी दिन सक्नेछ । आईएमई समूहले सञ्चालनमा ल्याएको यो तेस्रो केबलकार हो ।

← पहिलो समाचार || अर्को समाचार →