नबिल बैंकले ल्यायो नबिल ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना
- १२ पुष, २०८०
- अर्थ
- Nepal Updates
नबिल बैंकले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएको छ।
आफूलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरी बैंकले यो ऋण योजना ल्याएको हो।
यो ऋण योजना अन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रूपैयाँसम्मको ऋण दिइने नबिलले जनाएको छ।
आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने बैंकले दाबी गरेको छ।
नबिलले तत्कालको लागि नेपालभर ८ वटा शाखाबाट यो सेवा दिने जनाएको छ। जसमा उपत्यकाभित्रका ग्राहकहरूका लागि कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट लिन सकिन्छ।
उपत्यका बाहिरका ग्राहकका लागि धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगञ्ज (भानुभक्त चोक), फिदिम र चिप्लेढुंगाबाट सुन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ।
बैंकले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ। नबिल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।