जनकपुरमा छठ पर्वको रौनक
- ३ मंसिर, २०८०
- समाचार
- Nepal Updates
जनकपुरमा छठ पर्वका लागि बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने छठ पर्व शुक्रवारदेखि सुरु भएको छ । आज छठ पर्वको दोस्रो दिन खरना विधिमार्फत पर्व मनाइँदै छ । खरनामा व्रतालुहरूले नुहाएर चोखो भई साँझपख सख्खरको खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ ।
शुक्रवार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधि पूरा गरेका ब्रतातुले कात्तिक शुक्ल पञ्चमीका दिन अर्थात आज दिनभर निराहार व्रत बस्ने र राति सख्खरमा पकाइएको अरबा (चामलको खीर) कुल देवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खाने चलन छ ।
षष्ठी तिथिका दिन (आइतबार) व्रतालु निराहार व्रत बसेर साँझपख जलाशयमा पुगेर ‘अस्ताउँदो सूर्य’लाई अर्घ दिने गर्छन् र रातभर जाग्राम बस्ने चलन छ ।
त्यस्तै सप्तमीका दिन (सोमबार) बिहानै उदाउँदो सूर्यलाई अर्घ दिँदै व्रतालुहरूले कथा सुनेपछि छठ पर्व सम्पन्न हुन्छ ।