दुर्घटना घटाउने उद्देश्य,तीव्र गतिका सवारीलाई कारवाही
- २१ कार्तिक, २०८०
- समाचार
- Nepal Updates
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार गत आर्थिक वर्षमा तीव्र गतिमा सवारीसाधन चलाएको भन्दै ५८ हजार ७०२ जना सवारी चालक कारबाहीमा परेकामा यस आर्थिक वर्षको पहिलो तीन महिनामै २४ हजार ३७७ जना चालक कारबाहीमा परिसकेका छन् । गत आर्थिक वर्षमा मासिक औसतमा ४ हजार ८ सय ९२ जना चालक तीव्र गतिमा सवारीसाधन चलाएका कारण कारबाहीमा परेकामा यस आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्क केलाउँदा मासिक औसतमा ८ हजार ११२ जना सवारी चालक कारबाहीको दायरामा परेको देखिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्टका अनुसार एएनपीआर क्यामेरा जडान र लिडार स्पिड गनका कारण तीव्र गतिमा सवारी साधन चलाउनेमाथिको कारबाही तीव्र भएको हो । कारबाही बढाउनुको कारण नियम विपरीत सवारी साधन चलाएको मात्रै नभई सवारी दुर्घटना न्यूनीकरणका लागि पहल भएको एसएसपी भट्टले बताए ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्टका अनुसार मादक पदार्थ सेवन, हाइ स्पिड, लेन क्रस आदिमा निगरानी र कारबाही बढाउनुको कारण दुर्घटना न्यूनीकरण गर्नु नै रहेको बताउँछन् । एसएसपी भट्ट भन्छन्, ‘काठमाडौँ उपत्यकामा भएका अधिकांश दुर्घटनाको कारण भनेको हाइ स्पिड र चालकको लापरबाहीका नै छन् । हाइ स्पिड कन्ट्रोल र लेन अनुशासन कायम गर्न सकियो भने दुर्घटना आधाभन्दा बढीले घट्छ । त्यसकारण यी दुई विषयको कारबाही बढाउनुको उद्देश्य पनि दुर्घटना घटाउनु नै हो ।’
विगत तीन आर्थिक वर्षको तथ्याङ्क केलाउँदा पनि आर्थिक वर्ष २०७७/०७८ मा कुल ९ हजार ५ सय ९५ पटक सवारी दुर्घटना हुँदा ८२ प्रतिशत अर्थात् ७ हजार ८ सय ७० दुर्घटना चालकको लापरबाहीका कारण भएको छ भने ८ सय १० वटा दुर्घटना तीव्र गतिमा सवारी चलाएका कारण भएको थियो ।
आर्थिक वर्ष २०७८/०७९ मा आइपुग्दा १० हजार ७ सय ३३ दुर्घटना हुँदा करिब ५८ प्रतिशत अर्थात् ६ हजार १ सय ९१ दुर्घटना चालकको लापरबाही तथा ३३ प्रतिशत अर्थात् ३ हजार ५ सय ४३ दुर्घटना तीव्र गतिका कारण भएका छन् ।
आर्थिक वर्ष २०७९/०८० मा पनि कुल १० हजार ६ सय ७५ दुर्घटना भएकामा ३० प्रतिशत अर्थात् ३ हजार २ सय १९ दुर्घटना तीव्र गतिका कारण भएका छन् । दुर्घटनाका अन्य कारणमा मादक पदार्थको सेवन, यान्त्रिक गडबडी, ओभरटेक, मौसम तथा सडकको अवस्था र पैदलयात्रुको लापरबाहीका कारण पनि भएका छन् ।