युनिलिभर नेपालको नगद लाभांश वितरण गर्ने घोषणा
- २९ आश्विन, २०८०
- अर्थ
- Nepal Updates
युनिलिभर नेपालले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको यो लाभांश हालसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा बढी हो। गत वर्ष कम्पनीले प्रतिकित्ता १ हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गरेको थियो।
उक्त लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
कम्पनीले सञ्चालनको ३० वर्ष सम्पन्न गरेको खुशियालीमा उक्त दरमा लाभांश वितरण गर्ने घोषणा गरेको बताएको छ। लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म कायम सेयरधनीहरूले लाभांश पाउनेछन्।
यस अवधिसम्म कम्पनीको सेयरमूल्य ६.५० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३७ हजार ५०० रुपैयाँ पुगेको छ।