मनसुन लम्बिँदा असोजमा पनि लगातार झरी
- १७ आश्विन, २०८०
- समाचार
- Nepal Updates
नेपालमा सामान्यत: अक्टोबर २ तारिखसम्म मनसुन बाहिरिई सक्छ।
यसपालिको अक्टोबर २ अर्थात् असोज १५ गतेपछि पनि मनसुनी प्रणाली विस्थापित भएन। झन् सक्रिय भएर आयो।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दुई दिनअघि नै तीन दिनसम्म लगातार झरी पर्ने प्रक्षेपण गर्दै बालीनाली नकाट्न भन्यो। काटिसकेको भए नभिज्ने ठाउँमा राख्न र भित्र्याउन सूचित गर्यो।
मनसुन बाहिरिने सरदर मिति कटिसक्दा पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा लगातार झरी परिरहेको छ। नेपालमा मनसुनी वायु अरबियन सागरबाट बंगालको खाडी हुँदै पूर्वबाट प्रवेश गर्छ। यस वर्ष गत जुन १३ (जेठ ३२) मा मनसुनी प्रणाली नेपाल भित्रिएको थियो भने नेपालभर फैलन एक साता लागेको थियो।
काठमाडौंमा मंगलबार रातिदेखि नै लगातार पानी परिरहेको छ भने पाल्पामा हिजो भारी वर्षा मापन भयो। पाल्पाको कमलगाउँमा पछिल्लो २४ घन्टामा १४२.२ मिलिमिटर वर्षा भएको छ। पाल्पाको गन्डाकोटमा १६२.६, पाल्पाकै अर्चलेमा २०७.४, तनहुँको अत्रौलीटारमा १४६.८ र चितवनको देवघाट क्षेत्रमा १४६.६ मिलिमिटर वर्षा मापन भएको छ।
पछिल्लो २४ घन्टामा लमजुङ, गोरखा, ललितपुरका लेले, गोदावरीलगायत क्षेत्रमा भारी (५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्म) र अति भारी (१०० मिलिमिटरदेखि २०० मिलिमिटरसम्म) वर्षा भएको छ।