१८ असार २०८३, बिहीबार  |  2 July 2026,Thursday

जापानमा हुँदैछ ओलम्पिकमा जर्मन जिम्नास्टिक खेलाडीले लगाएको ड्रेसको चर्चा

सोसल सेयर

जापानको टोकियोमा अहिले ग्रिष्मकालीन ओलम्पिक हुँदैछ। संसारभरिका खेलाडीको उक्त कुम्भमेलामा पदकका लागि खेलाडीबीच प्रतिष्पर्धा त हुन्छ नै अरू थुप्रै विषयले पनि चर्चा पाउँछन्।

केहीदिन अघि चिनियाँहरूले आफ्ना भारोत्तोलन खेलाडीले स्वर्ण जित्दा बेलायती समाचार संस्था रोयटर्सले नराम्रो फोटो छापेको भन्दै आलोचना गरेका थिए।

अहिले भने जापानी समाजमा जर्मनीका खेलाडीले लगाएको पहिरनको चर्चा भइरहेको छ। जर्मनीका महिला जिम्नास्टिक खेलाडी शरीर ढाकिने लुगा लगाएर स्पर्धामा उत्रिएका थिए।

उनीहरूले खेलमा महिलाको शरीरलाई ‘सेक्सुअलाइजेसन’ गर्ने प्रवृत्तिको विरोध र महिला खेलाडीले आफूले चाहेको पहिरन लगाउन सक्छन् भन्ने सन्देश दिन फुल बडी सुट्स लगाएको बताएका छन्।

जर्मन खेलाडीको उक्त कदमको निकै पितृसत्तात्मक रहेको जापानी समाजमा चर्चा भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जर्मन खेलाडीको तारिफ गरेका छन्।

जापानका केही पूर्वखेलाडीले महिला भएकै कारण पहिरनका विषयमा आफूले भोग्नु परेको दुर्व्यवहार पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

‘म रिदमिक जिम्नास्टिकमा स्पर्धा गर्थें, त्यहाँ दुई जना अधवैंशे पुरुष हुन्थे। हामीले आफ्ना खुट्टा उचालेपछि उनीहरू फोटो खिच्न आउँथे,’ युको नामकी प्रयोगकर्ताले ट्वीटरमा लेखेकी छन्।

जापानमा अहिले पनि स्कुल जाँदा छात्राहरूले स्कर्ट लगाउनु पर्ने र कार्यालयमा महिला हाई हिल लगाउनै पर्ने चलन छ।

यसको विरोधमा केही समयअघि महिलाहरूले अनलाइनमार्फत् अभियान चलाएका थिए। तर उनीहरूको कुराको सुनुवाइ भएन।

अहिले आफ्नै देशमा भइरहेको खेलमा जर्मन महिला खेलाडीले पहिरनको स्वतन्त्रताबारे मुद्दा उठाएपछि जापानमा फेरि यसको चर्चा भएको हो।

← पहिलो समाचार || अर्को समाचार →