१८ असार २०८३, बिहीबार  |  2 July 2026,Thursday

सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने नीति बनाउन अर्थमन्त्रीको निर्देशन

सोसल सेयर

अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा संचालित सार्वजनिक संस्थानलाई नाफामा लैजाने गरी नीतिगत तथा कानुनी सुधार गर्न निर्देशन दिएका छन् ।

बुधवार मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको बि्रफिङ्ग लिँदै उनले घाटामा संचालित सार्वजनिक संस्थानलाई उकास्ने नीति र कार्यक्रम ल्याउन निर्देशन दिएका हुन् ।

‘के कस्तो नीति बनाउँदा सार्वजनिक संस्थानलाई नाफामा लिन सकिन्छ ? के के समस्या समाधान गर्नुपर्ने हो ? तत्काल त्यसको विस्तृत सूची तयार गर्नुहोस,’ उनले भने ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले केही संस्थानबाहेक धेरैजसो सार्वजनिक संस्थानको स्थिति राम्रो नभएको भन्दै सुधार गर्नैपर्ने अवस्था रहेको बताए । उनका अनुसार नेपाल सरकारको ६ सय अर्ब लगानी रहेको सार्वजनिक संस्थानले ३० हजार रोजगारी समेत सिर्जना गर्न नसकेको र नाफा आर्जन गर्नुको सट्टा उल्टै सरकारलाई दायित्व थपेको बताए ।

नाफामा लैजाने उद्देश्यका साथ निजीकरण गरिएका कतिपय संस्थानहरु समेत नोक्सानीमा रहेको भन्दै उहाँले सुधारको लागि नीतिगत परिवर्तनको आवश्यकता औंल्याए । संस्थान समन्वय महाशाखा प्रमुख एवं सहसचिव दीर्घ मैनालीले सार्वजनिक संस्थानहरुको विद्यमान अवस्थाबारे प्रस्तुति गर्दै नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल दुरसंचार कम्पनी लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडलगायतका संस्थान मात्र नाफामा चलेको जानकारी दिए ।

अर्थ मन्त्रालयको तथ्यांक अनुसार सरकारको स्वामित्वमा देशभर ४४ वटा सार्वजनिक संस्थान छन् । औद्योगिक क्षेत्रका १०, जनउपयोगी ५, व्यापारिक ५, वित्तीय ९, सामाजिक ५ र सेवा क्षेत्रका १० वटा संस्थान छन् । यसमध्ये नाफामा संचालित संस्थान २४ वटा छन् । घाटामा संचालित सार्वजनिक संस्थान भने १८ वटा छन् ।

← पहिलो समाचार || अर्को समाचार →