१८ असार २०८३, बिहीबार  |  2 July 2026,Thursday

सांसदहरुले भने : विना अध्ययन आयोजना बनाउँदा मेलम्चीमा क्षति

सोसल सेयर

१८ साउन, काठमाडौं । सांसदहरुले तयारीविनै शुरु गरेका कारण मेलम्ची खानेपानी आयोजनाले अहिले ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन् । आयोजना स्थल क्षेत्रको भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) जस्ता पूर्वकार्यमा हेलचेक्र्याइँ गरेका कारण अहिले मेलम्ची आयोजनाले ठूलो क्षति व्यहोर्नुपरेको उनीहरुले बताए ।

सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिबारे खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना विकास समितिका अधिकारीहरुसँग छलफल गरेको थियो ।

छलफलमा सांसदहरुले मेलम्ची आयोजनाको मुहान क्षेत्रको भौगर्भिक अध्ययन नभएकै कारण अहिले समस्या देखिएको बताए । ‘के हामीले मेलम्ची आयोजना छनोट गर्नुअघि गर्नुपर्ने पूर्वकार्यको सबै प्रक्रिया अवलम्बन गरेका थियौं त ? थियौं भने मेलम्ची आयोजनामाथिको भूभागबारे किन हेरिएन, हेरिएको भए यो आयोजना छनोट हुन्थ्यो त ?’ नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले प्रश्न गरे ।

पहाडीले अघि भने, ‘जहाँ हिमपहिरो आउँछ त्यहाँ मैदान बन्छ । मेलम्चीमाथि जुन मैदान छ त्यो अहिले आएर बनेको हो त ? होइन । होइन भने त्यस मैदानको अध्ययन गर्नुपर्ने थियो आयोजना छनोटअघि ।’ उनले बेलैमा अध्ययन नगरी आयोजना अघि बढाएका कारण ठूलो क्षति भएको भन्दै मेलम्चीको समस्या मानव सिर्जित भएको दाबी गरे ।

मेलम्ची नदीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल, सुरुङलगायतका संरचना पुरेको छ भने मुहानमा जाने सडक पनि बगाएको छ ।

नेपाली कांग्रेसका सांसद रामबहादुर विष्टले आयोजना छनोट अघि नै त्रुटि भएको जिकिर गरे । उनले आयोजना छनोटअघि अध्ययन गरिएको भए पनि त्यो औपचारिकताका लागि मात्रै गरिएको हुन सक्ने उनले बताए । ‘आयोजना छनोट गर्दा र निर्माण शुरु गर्नुअघि विस्तृत अध्ययन गरिनुपर्थ्यो । गरियो होला तर, त्यो औपचारिकताका लागि थियो होला त्यसकारण अहिले ठूलो क्षति हुन पुग्यो,’ विष्टले भने ।

अहिलेकै स्थितिमा मेलम्ची आयोजना पुनर्निर्माण गरे पनि दिगो हुनेमा उनले आशंका गरे । ‘अब पुनर्निर्माण गर्दा फेरि क्षति हुन्न भन्ने के ग्यारेन्टी ? पुनर्निर्माण गर्न कति खर्च लाग्छ, कति समय लाग्छ ? अब बन्दा पनि दिगो हुन्छ कि हुन्न ?’ सांसद विष्टले थपे, ‘अब हामीले विकल्प पनि सोच्नुपर्छ । त्रिशूलीको पानी मेसिनले उठाएर वितरण गर्न सकिन्छ कि !’

नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले मेलम्ची आयोजना निर्माणअघिको पूर्वकार्यमा त्रुटि भएको निष्कर्ष निकाले जिम्मेवारी लिन कोही तयार नहुने बताए । ‘आयोजना निर्माणअघि ईआईए गरियो कि गरिएन ? गरेको भए यस्तो विपत्ति कसरी आइलाग्यो ? कोही जिम्मेवारी लिन तयार छ ? छैन,’ उनले भने ।

सांसद सुनुवारले राजनीतिक नेताहरुलाई व्यंग्य कसे, ‘मेलम्ची आयोजनाको पानी काठमाडौं आएपछि उद्घाटन गर्दा कसले सपना देखेथ्यो ? भनी फोटो टाँसियो । उद्घाटन गर्नेको प्रचार गरियो । उद्घाटनमा मन्त्रीहरु लाइन लागेको देखियो । तर, समस्या आएपछि जिम्मेवारी लिन कोही तयार छैन ।’

नेकपा माओवादी केन्द्रकी सांसद इन्दुकुमारी शर्माले काठमाडौंमा बस्ने आगामी पुस्ताले सहज रुपमा पानी पिउन पाओस् भन्ने आफ्नो चाहना रहेको बताइन् । ‘२२ वर्षपछि मेलम्ची सपना पूरा भयो । तर, लेदोसहितको बाढीले त्यो सपना धेरै समय टिक्न सकेन । मेलम्चीको पानी कहिलेदेखि फेरि पिउन पाउने हो यकिन छैन । मेरो चाहना छ,’ उनले भनिन्, ‘अब आगामी पुस्ताले सहज रुपमा खानेपानी पिउन पाओस् ।’

१ अर्ब ८८ करोड बराबरको क्षति

मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्चीमा खानेपानी आयोजनामा १ अर्ब ८८ करोड रुपैयाँको क्षति भएको छ । प्राविधिक निरीक्षणको लागि सुरुङको मुख्य गेट बन्द गरिएकाले मुख्य टनेलमा क्षति नपुगेको अनुमान मेलम्ची खानेपानी आयोजना विकास समितिको छ ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार प्रारम्भिक अध्ययनमा करीब १ अर्ब ८८ करोडको क्षति भएको पाइएको छ ।

मेलम्ची बजारदेखि मुहान क्षेत्र अम्बाथानसम्मको २२ किमिमध्ये ८ किमी सडक पूर्ण रुपमा क्षति भएको, याङ्ग्रीतर्फ ५ किमी सडक क्षति भएको, ६ वटा पक्की पुल बगाएको छ ।

यस्तै, लेदोसहितको बाढीले आयोजनाको डाइभर्सन टनेलमा २१० मिटरसम्म लेदो भरिएको, हेडवक्र्सका पक्की संरचनाहरु पक्की बाँध, गेट, जेनेरेटर घर र कन्ट्रोल हाउस पुरिएको छ । कन्ट्रयाक्टर लेबर क्याम्प पनि बगाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →