तत्काल परीक्षाफल प्रकाशित गर्न माग
- १२ श्रावण, २०७८
- राजनिति
- Nepal Updates
कपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी ) को पूर्वाञ्चल विश्वविद्यालय समितिले उपकुलपति प्रा. डा. यादवराज कोइराला समक्ष ११ बुँदे माग पेश गरेको छ । मोरङको गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा संयोजक बालकुमार केसि नेतृत्वको टोलीले मागपत्र बुझाएको हो।
त्यसैगरी प्रदेश १ को भूगोल समेटिने गरी विश्वविद्यालयका आंगिक क्याम्पसहरू विस्तार गर्न माग गरिएको छ । विद्यार्थीको घनत्व रहेका उपत्यका लगायतका अन्य ठाउँमा पनि विश्वविद्यालयका आंगिक क्याम्पस विस्तार गर्न माग गरिएको छ।
विश्वविद्यालयको आंगिक मेडिकल कलेज अविलम्ब सञ्चालनको लागि द्रुत पहल र प्रक्रिया अघि बढाउन माग गरिएको छ । चलिरहेका कार्यक्रमहरुको गुणस्तर कायम गर्न लाग्नुको सट्टा नयाँ र निजीलाई सम्बन्धन दिने र कोटा थप गर्ने कार्य तत्काल रोक्न समेत माग गरिएको छ।
विश्वविद्यालयको हरेक सिनेटमा विद्यार्थी प्रतिनिधि सहभागी हुँदै आएकोमा केही समय यताबाट विद्यार्थी प्रतिनिधि समावेश नगरिएकाले अब उप्रान्त सिनेटमा विद्यार्थी संगठनका प्रतिनिधिहरुको सहभागिता सुनिश्चित गर्न माग गरिएको छ।
यसैगरी कोरोना महामारीले शैक्षिक गतिविधि ठप्प भएको समयको शैक्षिक शुल्कहरू मिनाहा गर्न र कोभिडले आक्रान्त विद्यार्थी र अभिभावकलाई राहत प्रदान गर्न समेत माग गरेको छ । क्रान्तिकारीले विश्वविद्यालयका सम्पुर्ण विद्यार्थी, कर्मचारी एवं शिक्षकलाई तत्काल कोभिड विरुद्धको खोप लगाउन पाउने व्यवस्था सुनिश्चित गर्न समेत माग गरेको छ ।
आइतबार ज्ञापनपत्र बुझाउँदै ११ बुँदे माग तत्काल पुरा नगरिए कडा आन्दोलनमा उत्रन वाध्य हुने चेतावनी क्रान्तिकारीका पूर्वाञ्चल विश्वविद्यालयका संयोजक केसीले दिएका छन् ।