परराष्ट्रमन्त्रीले भेटे गैरकानूनी बाटोबाट रुसी सेनामा गएका नेपालीका परिवार
- १५ फाल्गुन, २०८०
- समाचार
- Nepal Updates
परराष्ट्रमन्त्री एनपी साउदले गैरकानुनी रूपमा गएका भए पनि रुसी सेनामा भर्ना भएका नेपाली नागरिकका प्रति राज्यको दायित्व रहेको बताएका छन् । मन्त्री साउदले रुसी सेनामा भर्ना भएका नेपालीका आफन्तलाई मंगलबार मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् ।
साउदले छलफलका क्रममा मन्त्रालयअन्तरगतको कन्सुलर विभागमा हालसम्म मृत्यु भएका, सम्पर्कमा नभएका तथा रुसी सेनाबाट फिर्ता गरिदिन अनुरोधसहितका २४४ जनाका बारे परिवारले निवदेन दिएको पनि जानकारी दिए ।
रुसी सेनामा भर्ना भएका नागरिकको संख्याका बारेमा अतिरञ्जित गरेर समाजमा भ्रम फैलाउने ढंगले कसैले पनि प्रस्तुत हुन नहुनेमा उनको जोड थियो ।
परराष्ट्रमन्त्री साउदले रुसी सेनामा भर्ना भएकाका परिवारका सदस्यहरुलाई पछिल्लो विकास क्रमका बारेमा पनि जानकारी दिए । उनले भारत भ्रमणमा गएको अघिल्लो दिन फेब्रअरी २० मा रुसी राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेको समेत जानकारी दिए ।