किन अभाव छ बजारमा सिटामोल?
- १२ श्रावण, २०७८
- स्वास्थ
- Nepal Updates
नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै सिटामोलको माग ह्वात्तै बढेको छ। कोभिड पोजेटिभ देखिएर ज्वरो आएमा चिकित्सकहरूले सिटामोल खाना सुझाउँछन्। यसकारण पछिल्लो समय यसको माग उच्च रहेको औषधि वितरकहरू बताउँछन्। तर मागअनुसार कम्पनीहरूले उत्पादन गर्न नसकेपछि हाल बजारमा सिटामोल अभाव छ।
काठमाडौं, बौद्धस्थित बौद्धनाथ मेडी फर्मा सञ्चालक लक्ष्मण पाण्डे सिटामोल मागअनुसार बिक्री गर्न नपाएको बताउँछन्। उनले भने, ‘कोभिडको संक्रमण बढेसँगै सिटामोलको माग ह्वात्तै बढेको छ। तर मागअनुसार धान्न सकिएको छैन। अहिले स्टकमा रहेको अलिअलि बेचिरहेको छु।’
सोही ठाउँमा विगत २१ वर्षदेखि केबी फर्मा चलाउँदै आएका भरत थापाले पनि करिब एक महिनादेखि सिटामोलको अभाव भएको गुनासो गरे।
‘निषेधाज्ञा भएसँगै सिटामोल किन्न आउने बढेका छन्। तर भने जति दिन सकिएको छैन,’ भरतले भने।
नेपालमा सिटामोल उत्पादान गर्ने निजी कम्पनी नौभन्दा बढी छन्। तर पनि यो महामारीमा अत्यन्त आवश्यक सिटामोल आवश्यक अनुरूप किन धान्न सकिएन त? भन्ने प्रश्नमा नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायण क्षेत्री कच्चापदार्थको मूल्य बढेको तर सिटामोलको मूल्य नबढाइएका कारण यस्तो समस्या आएको बताउँछन्।
‘कच्चापदार्थको मूल्य तीन/चार गुणा बढेको छ। तर, सिटामोल पुरानै मूल्यमा बेच्न भनिएको छ। जुन १४ वर्ष अगाडि तोकिएको मूल्य हो। यसरी त लागत नै उठ्दैन,’ उनले भने।
एक गोटी सिटामोलको डेढ रूपैयाँ लागत लाग्ने तर एक रूपैयाँमा बेच्दा उत्पादकले घाटा बेहोर्नुपरेको क्षेत्री बताउँछन्। मूल्य समायोजन हुन सकेन भने नयाँ मूल्यअनुसार कच्चापदार्थ किनेर सिटामोल बनाउने सक्ने अवस्थामा नरहेको उनले बताए।
‘अहिले दुई-तीन हप्तालाई पुग्ने सिटामोल बनाएर पठाइदिएका छौं। अब नयाँ कच्चापदार्थ किनेर सस्तोमा बेच्न सकिँदैन। घाटामा व्यापार कहाँ गर्न सकिन्छ र,’ क्षेत्रीले भने।
औषधि उत्पादक संघले सिटामोलको मूल्य बढाउन औषधि व्यवस्था विभागलाई पटक–पटक चिठी काटिसकेको पनि उनले जानकारी दिए। भने, ‘मूल्य निर्धारण कार्य समिति बनाएर त्यसलाई तुरून्तै कार्यान्वयन गर्छौं भन्नुभएको छ। तर सरकारी काम, कहिले जाला घाम भने जस्तै भइरहेको छ।’
‘यो महामारीको समयमा यसको माग उच्च छ। यसकारण पछिल्लो एक महिना अघिदेखि झन् बढी दबाब दिइरहेका छौं,’ क्षेत्रीले थपे, ‘तीन सयमा किनेको कच्चा पदार्थको भाउ नौ सय पुगिसकेको छ। यसकारण सिटामोलको मूल्य नबढाइ बनाउनै सक्दैनौं भनेर ताकेता गरिरहेका छौं। गर्छौं भन्दाभन्दै एक महिना टरिसक्यो।’
विषम परिस्थितिमा अभाव गर्नु हुँदैन भनेर पहिलाको बाँकी कच्चा पदार्थबाट आफूहरूले उत्पादन गरिरहेको उनको भनाइ छ। झन्डै तीन महिनादेखि भारतबाट सिटामोल नआएको र आफूहरूले नै धानिरहेको पनि उनले बताए।