सरकारमा जानुअघि पार्टीभित्र पर्याप्त छलफल नभएको: रास्वपा सदस्य
- २९ फाल्गुन, २०८०
- राजनिति
- Nepal Updates
सरकारमा जानुअघि पार्टीभित्र पर्याप्त छलफल नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका केही केन्द्रीय सदस्यहरूले प्रश्न उठाएका छन्।
च:मतिमा सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा निर्णय प्रक्रियाका सन्दर्भमा केही केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाएका हुन्।
केन्द्रीय समितिमा महामन्त्री डा. मुकुल ढकालले एजेन्डा प्रस्तुत गर्दै पछिल्लो राजनीतिक घटनाक्रमबारे बोलेका थिए।
त्यसमाथि धारणा राख्दै केही केन्द्रीय सदस्यहरूले सरकारमा जानुअघि पार्टीमा छलफल नभएको भन्दै प्रश्न उठाएका थिए।
‘पार्टीमा छलफल नगरी सरकारमा सहभागी भएको भन्दै केही सदस्यहरूले असन्तुष्टि राख्नुभयो। तर अधिकांश सदस्यहरूको समर्थन नै थियो। केही सदस्यहरूले अहिलेको अवस्थामा पार्टी सरकारमा जानु औचित्यपूर्ण नहुने बताउनु भएको थियो,’ एक सदस्यले सेतोपाटीसँग भने।
त्यस्तै मन्त्री चयन पनि समावेशी नभएको गुनासो बैठकमा ती केन्द्रीय सदस्यहरूले राखेका थिए। संघीय सरकारमा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल (डिपी) श्रममन्त्री, उपनेता विराजभक्त श्रेष्ठ खेलकुद मन्त्री र सांसद सुमना श्रेष्ठ शिक्षा मन्त्री भएका थिए।
‘शतप्रतिशत समर्थन, शत प्रतिशत सन्तुष्टि केही कुरामा पनि हुँदैन। अलिअलि असन्तुष्टि, विरोध स्वाभाविक हो,’ उनले सेतोपाटीसँग भने, ‘उहाँहरूले डेलिभरीको कुरा उठाउनु भएको हो। सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन नसक्ने हो भने अहिले दुई चार जना मन्त्री बनेकामा खुसी हुन सकिएला। तर भोलिका दिनमा कोही पनि मन्त्री बन्न नसक्ने अवस्था आउन सक्छ भन्नेमा उहाँहरूको चिन्ता देखिएको थियो।’
बैठकमा आफूलाई ‘ग्लोरिफाइ’ गर्ने भन्दा पनि निर्मम समीक्षा गरेर कामलाई प्रभावकारी बनाउनुपर्ने कुरा उठेको उनले जानकारी दिए। ‘चुनौतीप्रति सजग रहँदै कार्यसम्पादनमा जोड दिनुपर्ने अधिकांश सदस्यहरूको राय थियो,’ उनले भने।
पार्टी कार्यालयमा मन्त्रीहरूको सम्पर्क डेस्क राख्नुपर्ने र मन्त्रालयमा पार्टी नेता कार्यकर्ताको भीड लाग्न दिन नहुने कुरा बैठकमा उठेको झाले बताए।
‘मन्त्रीहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन कार्यालयमा पार्टीले नेतृत्व गरेको मन्त्रालयपिच्छे डेस्क राखिनुपर्ने, त्यहाँ सुझाव, सल्लाह लिने परिपाटीको थालनी हुनुपर्ने लगायतका कुरा पनि बैठकमा उठेका छन्,’ उनले भने।
यसैबीच रास्वपाले बझाङ–१ मा हुन लागेको प्रदेश सभा निर्वाचनमा भाग नलिने निर्णय गरेको छ। रास्वपाले २०७९ मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा पनि भाग लिएको थिएन।